पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन

काठमाडाैं | फागुन ६, २०७९

पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन फाइल तस्बिर

काठमाडौं:  महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा शनिबार बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 

यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । 

 

बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ । घाम लागेसँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको हो ।

 

महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रूपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथमा विशेष पूजा सकेर उहाँले पशुपतिमन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुनेछ । यो मन्दिर वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो ।

 

मन्दिर उद्घाटनपछि उहाँले त्यहीँ प्रवचन पनि गर्नुहुनेछ । बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शङ्कराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम रहेको छ । यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ ।

 

महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवम् दर्शन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी, नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आउनुभएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले बताउनुभयो ।

 

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ । नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ । साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ । यसमा गुठी संस्थानको पनि सहयोग रहेको छ ।

 

महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरुपमा सिँगारिएको छ । दर्शनार्थीलाई व्यवस्थितरुपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा रहेको छ ।

 

पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क खानेपानी सेवा, भोजन एवम् प्रसाद सेवा, रक्तदानजस्ता सेवामूलक काम गर्ने संस्थाको पनि भीड देखिन्छ । केही मानिसले विभिन्न साम्प्रदायिक पुस्तक वितरण गरेको भन्दै भक्तजनले आपत्ति जनाएका छन् । कोषले यस्ता काममा रोक लगाउने भने व्यवहारमा कार्यान्वयन नभएको गुनासो भक्तजनको छ । 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्